काठमाडाैंमा भोलिदेखि मेलम्चीको पानी वितरण हुने


काठमाडाैं – काठमाडाैं उपत्यकामा साेमवारदेखि मेलम्चीको पानी वितरण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाेलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने तय भएको हो ।

उक्त कार्यक्रमपछि उपत्यकावासीको धारामा पानी आउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले बताए । उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट यही पुस २५ गते हेडवर्क्समा पानी पठाइएको छ ।

पानी सुन्दरीजल आइसकेको र सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडाैंमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने अन्सारीले बताए । शुरुमा काठमाडाैं उपत्यका खानेपानी लिमिटेड, केयूकेएललाई पाँच करोड लिटर पानी उपलब्ध गराइने छ । भाेलि पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाइ क्रमश: खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ । यसअघि उपत्यकामा मेलम्चीकाे पानी ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा पुस ३ गते बसेको बैठकले आकस्मिक परिस्थितबाहेक २८ दिनको कार्यतालिका बनाएर निर्माण व्यवसायी सिनो हाइड्रोले तत्काल काम शुरु गर्ने गरी सम्झौता भएको थियो ।

गएको साउन २७ र २८ मा आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन समस्या भएको थियो । अब बाह्रै महिना मेलम्चीको पानी वितरण हुने खानेपानी मन्त्री महिन्द्रराय यादवकाे दाबी छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडाैं आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

प्रतिक्रिया