अल्पमतमा परेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । अल्पमतमा परेका पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिएका हुन् ।

विश्वासको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मंगलबार नेपाली कांग्रेसका सांसदसँग छलफल गरेका थिए । गत २३ फागुनमा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार जोगाउन २२ चैतभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुन बाँकी छ ।

गण्डकीमा सत्ता गठबन्धनका एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत आठ सिट छ । गण्डकीमा सरकार गठनका लागि राप्रपा निर्णायक छ ।

प्रतिक्रिया