उपनिर्वाचनको सुरक्षा तयारी पूरा, दुई हजार तीन सय ८७ प्रहरी परिचालन हुने


काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ को सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन तयारी पूरा भएको बताए।

प्रहरी नायव महानिरीक्षक ढकालले नेपाल प्रहरीले मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन चरणको सुरक्षा योजना बनाइ लागू गरिएको जानकारी दिए ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचनमा भाग लिने अवसर प्रदान गर्ने र निर्वाचन कार्यमा खटिने सम्पूर्ण कर्मचारीहरूको सुरक्षा प्रदान गर्ने उनले बताए ।

मतपेटिकाको सुरक्षित संकलन तथा भण्डारण गर्ने र सुरक्षित र स्वतन्त्र रूपले मतगणना सम्पन्न गराउने लगायतका सुरक्षाका समग्र काममा नेपाल प्रहरीले चुस्त रूपमा सुरक्षा व्यवस्थापन गरेको समेत उनले बताए ।

दुई हजार तीन सय ८७ प्रहरी परिचालन हुने

प्रहरी नायव महानिरीक्षक ढकालले निर्वाचन व्यवस्थापन कार्यका लागि इलाम-२ मा ७९ मतदानस्थल र १४९ केन्द्रमा गरी एक हजार तीन सय ६३ जना र बझाङमा ७४ मतदानस्थल र ९३ केन्द्रमा गरी एक हजार २४ जना प्रहरी जनशक्ति परिचालन गरिने उक्त अवसरमा बताए ।

मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन मिलाइएको उनले जानकारी दिए । मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवान्छित गतिविधि भई सुरक्षा निकायले बल प्रयोग गर्नुपर्ने स्थिति आइपरेमा प्रचलित कानुन बमोजिम सुरक्षा कारवाही गरिने उनले बताए ।

कार्यक्रममा संचारकर्मीहरूले राखेका विविध जिज्ञासा निरूपण गर्दै प्रहरी नायव महानिरीक्षक ढकालले सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गरिने बताए । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसमेतका युनिटलाई उप-निर्वाचन क्षेत्रमा परिचालन गरी थप जनशक्ति सहितको व्यवस्था गरेर शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न गराउन कुनै कसर बाँकी नराखिने उनले चर्चा गरे ।

प्रतिक्रिया