उपनिर्वाचन : उत्साहजनक रुपमा मतदान चल्दै


काठमाडाैं – उपनिर्वाचन भइरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रुपमा मतदान हुँदैछ । इलामको प्रतिनिधिसभा क्षेत्र-२ तथा बझाङको प्रदेशसभा एक (क) मा अहिले मतदान भइरहेको हो ।

निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार इलामका सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । त्यहाँ प्रमुख दलका र मुख्य प्रतिस्पर्धी मानिएका उम्मेदवारले मतदान गरिसकेका छन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँको जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका-३ को सिंहदेबी मावि शुक्रबारे ‘क’ केन्द्रमा मतदान गरे । इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ आज उपनिर्वाचन भएको हो ।

यस्तै बझाङ प्रदेशसभा एक (क) मा पनि मतदाता उत्साहजनक रुपमा लामबद्ध भएर मतदान गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

बझाङ-१ (क) मा प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि आज उपनिर्वाचन भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया