पालिका उपनिर्वाचन : ६२ प्रतिशत मत खस्याे, आजैदेखि मतगणना सुरू


काठमाडाैं – पालिकाका रिक्त विभिन्न ४१ वटा पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

सहायक प्रवक्ता चालिसेका अनुसार आज भएको मतदानमा ६२ प्रतिशतभन्दा धेरै मत खसेको छ । मतदानमा वृद्धवृद्धा, अशक्त, गर्भवती र सुत्केरीलगायतका मतदाताको उत्साहजनक सहभागिता रहेको थियो । उपनिर्वाचनका लागि दुई लाख २६ हजार सात सय ९९ जना मतदाता थिए ।

नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी कुल ४१ पदका लागि आज मतदान भएको हो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगका सहायक प्रवक्ता चालिसेले सर्वदलीय छलफलपछि आजै रातिदेखि मतगणना सुरु हुने बताए । उनका अनुसार पालिकास्तरको मतगणनाका लागि सबै मतदान केन्द्रबाट मतपत्र सङ्कलन गर्न केही समय लाग्ने भएकाले त्यहाँ भाेलि बिहानदेखि मतगणना सुरु हुनेछ ।

दोलखा, बाजुरा, हुम्लाजस्ता दुर्गम ठाउँहरूमा रातिसम्म मतपेटिका सङ्कलन हुने भएकाले त्यहाँ तत्काल मतगणना सुरु गर्न कठिनाइ हुने देखिएको छ । यद्यपि आजैदेखि सुरु भएका वडाहरूको मतगणनाको प्रारम्भिक नतिजा भोलि बिहानसम्म आउन सक्ने र भोलि बेलुकासम्म धेरैजसाे ठाउँको मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरेकाे सहायक प्रवक्ता चालिसेले बताए ।

बढी मतदाता भएका पालिकाहरु काठमाडाैंकाे कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिकालगायतका ठाउँमा मतपरिणाम पर्सिसम्म मात्रै आउने चालिसेले जानकारी दिए ।

प्रतिक्रिया