कास्कीमा पहिरो : दुई बालबालिकाको मृत्यु, एक घाइते


काठमाडौं – भारी वर्षासँगै मंगलबार गएको पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका तीन वर्षीय अनमोल सुनार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घर पछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै पहिरोमा परी पोखरा-२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ ।

उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । ‘अवस्था गम्भीर छ । अन्य २ जना (हरि सुनार र छोरी वर्ष ९ की अञ्जली सुनार) को सकुशल उद्दार गरिएको हो’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘घरमा पूर्ण रूपमा क्षति भएको छ ।’

प्रतिक्रिया