बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी
काठमाडौं – सत्ता साझेदार दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।
बैठकमा संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।जस अनुसार प्रधानमन्त्री ओली र सभापति देउवाबीच न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको बताइएको छ ।
साथै आजको बैठकले आम जनतामा रहेको निराशा चिर्ने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ । कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।