संविधान संशोधनका लागि सत्ता साझेदार दलहरुले छलफल गर्ने


काठमाडाैं – सत्ता साझेदार दलको बैठकमा संविधान संशोधनका लागि छलफल गर्ने निर्णय भएको छ । बालुवाटारमा हिजो बसेको बैठकमा संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी भएको हो ।

कांग्रेस र एमालेबीच गत असारमा भएको सात बुँदे सहमतिमा संविधान संशोधनको विषय समावेश छ । यसैलाई मुख्य प्राथमिकतामा राखेर बैठकले राजनीतिक दल र सरोकारवालासँग बृहत् छलफल गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका विषयलाई अवाञ्छित रुपमा गरेको टिप्पणीमा पनि समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा सरकारका कामकारबाही र साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल भएको थियो ।

सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन भएर गृहकार्य शुरु भइसकेको छ । बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खानलगायत सहभागी थिए ।

प्रतिक्रिया