बाढीजन्य विपद्‍बाट हालसम्म दुई सय ९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता


काठमाडौं – अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबारसम्म दुई सय ९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिए ।

हिजो नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुरलगायत ठाउँबाट घाइते, बिरामी तथा अलपत्र परेका गरी ४ सय २५ जनाको उद्धार गरिएको पनि उनले जानकारी दिए ।

मन्त्रालयले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायत अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा खोज र उद्धारकार्यलाई आवश्यकतानुसार सुरक्षा निकायबाट निरन्तरता दिइएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्तिमा निकालेर सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्ग सञ्चालन गर्ने, तत्काल शुरु गर्न नसकिने सडकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी गाडीको आवागमन सहज बनाउने कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया