देशभर चिसो बढ्ने क्रम जारी, सतर्कता अपनाउन मौसमविद्काे आग्रह


काठमाडाैं – देशभर दिनहुँ चिसो बढिरहेकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज (बुधबार) बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको हो ।

जसमा भनिएको छ स् देशका प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने छैन । अहिले बिहान देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । आज दिउँसो प्रदेश–१, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ । अगाडि भनिएको छ : प्रदेश-१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया