नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ
खाेटाङ – नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा महजस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए।
स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाईलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग वाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले ती बालकलाई नियन्त्रणमा लिएको हो ।
नक्कली मह बिक्री गरिरहेका अर्का एक जना फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताए ।