मृतकका आफन्तसँग चार बुँदे सहमतिपछि सुर्खेत बन्द स्थगित

सुर्खेत – कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी)को शंकास्पद मृत्यु भएको बिषयलाई लिएर आइतबार गरिएकाे सुर्खेत बन्द स्थगित भएकाे छ । सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने भएका हुन्।

नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदै गरेका हमालको प्रहरीको निर्घात कुटाइबाट मृत्यु भएको आफन्तको आरोप छ ।पीडित परिवारसँग आइतबार सहमति भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

प्रजिअ रिजालका अनुसार शनिबार बनाइएको छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको छ।

घटनाको छानबिन गर्न शनिबारनै चार सदस्यीय छानबिन समिति बनाएको थियो। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाइएको छ।

यसअघि समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। आफन्तको आग्रहपछि उक्त समय ७ दिन बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *