एसईईको नतिजा सार्वजनिक, १.९४ प्रतिशतले ल्याए सबैभन्दा बढी जीपीए
काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार दिउँसाे नतिजा सार्वजनिक गरेकाे हाे ।
जसमा सबैभन्दा बढी अर्थात् ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको बोर्डका सदस्य-सचिव दुर्गाप्रसाद अर्यालले बताए। यो १.९४ प्रतिशत हो । त्यस्तै, एसईईमा ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४१ हजार ६२७ जना छन् । यो ८.४० प्रतिशत हो।
यसै गरी, २.८ देखि ३.२ जीपीए ल्याउने ६९ हजार ९०० अर्थात् १४.१ प्रतिशत, २.४ देखि २.८ जीपीए ल्याउने ९० हजार ५५८ अर्थात् १८.३१ प्रतिशत छन् । सबैभन्दा बढी विद्यार्थीले २.० देखि २.४ जीपीए अङ्क ल्याएका छन् । यी विद्यार्थी संख्या एक लाख १२ हजार ७३३ रहेको छ । यो २२.७४ प्रतिशत हो ।
त्यस्तै, १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थी एक लाख ५९४ जना अर्थात् २०.२९ प्रतिशत छन्। एसईईमा १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थी ४४ हजार ५८६ जना अर्थात् ८.९९ प्रतिशत रहेको बोर्डले जनाएको छ । सबैभन्दा कम अर्थात् ०.८ देखि १.२ सम्म ल्याउने विद्यार्थी तीन हजार २८० छन् । यो ०.६६ प्रतिशत हो ।
२०७८ को एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी थिए । जसमध्ये २२ हजार ६४० विद्यार्थी अर्थात् ४.५७ प्रतिशत विद्यार्थी अनुपस्थित रहेको सदस्य-सचिव अर्यालले बताए । बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।