एसइई नतिजामा सुधार : मौका परीक्षा साउनमा, कति छन् ननग्रेडेड ?


काठमाडौं – माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको संख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजा अनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।

अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताए । उनले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पारे ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गत वर्ष भन्दा यस वर्षको नतिजा सकारात्मक रहेको बताएका हुन् । अक्षराङ्कन पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत परीक्षाफलको नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ ।

यसवर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् । परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया