सप्तकोशीमा पानीको बहाव बढ्याे, ३४ ढोका खोलियाे
सुनसरी – सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ । ब्यारेजमा ५६ वटा ढोका छन् । साँझ ८ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव दुई लाख ३१ हजार तीन सय क्युसेक प्रति सेकेन्ड मापन गरिएको छ ।
पानीको बहाव बढेसँगै सप्तकोसी नदी आसपासका क्षेत्रमा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । सुनसरी र सप्तरी दुवैतर्फको प्रशासनले सप्तकोशीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
सप्तकोशीमा पछिल्लो समयमा बाढीको उच्च सम्भावनाको आङ्कलन गरिएपछि सबै स्रोत, साधनका साथै सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । शुक्रबार रातिको वर्षाले सप्तकोशीको बहाव बढेको हो । जसका कारण उदयपुरको बेलका ८ मा पर्ने डुम्रिबोटेबाट कटान प्रभावित क्षेत्रमा पानी जाने क्रम बढेको छ ।
चार दिनअघि डुम्रिबोटेबाट कटान भई डुबानमा परेका बस्ती थप प्रभावित भएका छन् । बेलकाको २, ३, ८ र ९ वडा, सुनसरीको ६ र ९ तथा सप्तरीको फत्तेपुर क्षेत्रको केही भू-भाग डुबानमा परेको हो ।
यसअघि पानीको सतह घटेसँगै आ–आफ्नै थातथलोमा फर्किएका सर्वसाधारणहरू पुनः विस्थापित भएका छन् । चार दिन अघि जोखिममा २० हजार भन्दा बढी सर्वसाधारण परेका थिए । पानीको बहाव बढेसँगै डुबान क्षेत्रमा विस्थापितको सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ ।