सङ्घीय संसद्काे पहिलाे बैठक सुरु, ज्येष्ठ सदस्य जबराद्वारा सदस्यहरुको स्वागत


काठमाडाैं – सङ्घीय संसद्को पहिलो बैठक आज पुस २५ गते सोमवार सुरु भएकाे छ । गत मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

उनले भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमवारको दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’ त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाए।

सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको जानकारी गराएको छ । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।

आजको पहिलो बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले सदस्यहरुलाई स्वागत गरे ।

प्रतिनिधि सभामा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक तथा स्वतन्त्र पाँच सांसद छन् ।

आजको बैठकमा ज्येष्ठ सदस्य जबराले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउने छन् ।

प्रतिक्रिया