दैलेखको वनमा लागेको आगोमा परी १२ मजदुर घाइते, चारको अवस्था गम्भीर


दैलेख – दैलेखको आठबीस नगरपालिका-६ माल्याको वनमा लागेको आगोमा परी १२ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय आधारभूत स्वास्थ्य चौकी राकममा प्राथमिक उपचार भइरहेको नगरपालिकाकी उपमेयर कल्पनाकुमारी थापा चन्दले जानकारी दिइन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उनले बताइन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो खन्न जङ्गलमा गएका उनीहरू आगलागी हुँदा ओडारमा बसेका थिए । आगोको मुस्लो ओडारमै पसेपछि उनीहरू घाइते भएका हुन् । घाइतेहरूको उपचारका लागि गृह मन्त्रालयसँग हेलिकप्टरको कुरा भइरहेको उपमेयर चन्दले बताएकी छन् ।

आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालका अनुसार काम गरिरहेको अवस्थामा एक्कासी वनमा लागेको डढेलो फैलिएको र भाग्ने ठाउँ नभएपछि उनीहरुको शरीरमा आगो लागेको हो । ‘काम गर्न गएका १२ जना आगलागीमा परेको बुझिएको छ । तीमध्ये चार जनाको अवस्था गम्भीर छ भन्ने सुनेका छौं । हामीले घाइतेहरुको उद्दारका लागि टोली परिचालन गरिसकेका छौं’ प्रमुख बडुवालले भने ।

प्रतिक्रिया