अवरुद्ध नागढुङ्गा-नौबिसे सडक खण्ड एकतर्फी खुल्यो


काठमाडाैं – काठमाडाैंकाे नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ । पहिरोले अवरुद्ध नागढुङ्गा-नौबिसे सडक खण्ड साढे ६ घण्टापछि एकतर्फी खुलाइएको हो ।

प्रहरी वृत्त थानकोटका अनुसार अहिले बेलुकी ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडाैं आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका गाडीलाई भित्र्याउन सुरु भएको छ । गाडीको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने प्रहरीले जनाएकाे छ ।

पानी परिरहँदा पहिरो पन्छाउने र खस्ने क्रम चलिरहेकाले आज बिहान साढे १० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण नागढुङ्गा-नौबिसे खण्ड प्रभावित भएको थियो ।

प्रहरी वृत्त थानकोटका अनुसार थप पानी परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको छ । हाल तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

नागढुङ्गा चोकबाट केही सय मिटर पर नाग मन्दिर नजिकै पहिरो खसेको हो । नागढुङ्गा प्रहरीले काठमाडाैंबाट जाने गाडी नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने गाडी ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् । काठमाडाैं छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् ।

प्रतिक्रिया