रवि लामिछानेलाई पोखरा पुर्‍याइयो, सङ्गठित अपराध र कीर्तेमा पनि अनुसन्धान हुने


काठमाडौं – सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा हिजो (शुक्रबार) साँझ काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । पूर्व गृहमन्त्री एवं सांसदसमेत रहेका लामिछानेलाई प्रहरीले सडक मार्ग शनिबार हुँदै बिहान ३ बजे पोखरा पुर्‍याएको हो ।

सूर्यदर्शन सहकारीसहित सहकारीको साढे ६५ करोड रुपैयाँ बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएपछि स्वास्थ्य परीक्षणपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याउने बेला उनका समर्थकहरूले चर्को नाराबाजीसहित अवरोध गरेका थिए । कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर ल्याइएको हो । पोखरा ल्याएका लामिछानेलाई शनिबार सार्वजनिक विदा परेकाले अदालत पेस गरिने छैन । उनलाई आइतबार मात्र अदालत पेस गर्ने तयारी प्रहरीको छ ।

लामिछानेविरुद्ध सहकारी रकम अपचलन र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न अदालतसँग अनुमति माग गरिने छ । म्याद थपको अनुमति पाए पछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधविरुद्ध अनुसन्धान अघि बढाउने छ । सहकारी रकम अपचलन सम्बन्धी संसदीय विषेश समितिले रास्वपा सभापति लामिछानेसहित अन्य व्यक्तिहरुको संलग्नता देखिएको भन्दै पक्राउ गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया