मतपत्र छपाई आजदेखि सुरू, पैसा तिरेर मतदाता नामावली लिने सकिने 


काठमाडौं – आगामी स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई आजदेखि सुरु भएको छ ।

निर्वाचन आयोगकाे निर्णयपछि वैशाख ३० गते शुक्रबार हुने निर्वाचनका लागि  जनक शिक्षा सामग्री केन्द्रमा आवश्यक मतपत्र छपाई आजदेखि सुरु भएकाे हाे ।

कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने आयोगले जनाएकाे छ । आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।

निर्वाचनमा राजनीतिक दललाई प्रचारप्रसार र मतदाता शिक्षाका लागि सहज होस् भन्ने हेतुले आयोगले एक लाख ८० हजार थान नमूना मतपत्र छपाई गरिसकेको छ ।

पैसा तिरेर मतदाता नामावली लिने सकिने 

राजनीतिक दलको आधिकारिक पत्रका आधारमा रु सात हजारमा देशभरको तथा पाँच हजार तिरेर प्रदेशको मतदाता नामावली आयोगबाट लिने सकिने जानकारी दिइयो ।

जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको निवेदनका आधारमा जिल्लाभरको रु तीन हजार, पालिका तहको रु एक हजार तथा वडाको रु ५०० तिरेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट मतदान नामावलीको विद्युतीयप्रति लिन सकिने व्यवस्था छ ।

निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका, निर्वाचन तालिम निर्देशिका, मतदान निर्देशिका र मतगणना निर्देशिका आयोगबाट पारित भई कार्यान्वयनमा आइसकेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया