बागमतीमा नवनिर्वाचित प्रदेशसभा सदस्यले लिए शपथ
हेटौंडा – बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित १०९ जना प्रदेशसभा सदस्यलाई बिहीवार ज्येष्ठ प्रदेशसभा सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रदेश सभामा निर्वाचित प्रदेशसभा सदस्यहरूमध्ये १५ जनाले मातृभाषामा शपथ लिएका छन् । जसमध्ये १२ जना प्रदेशसभा सदस्यले नेवारी, ३ जनाले तामाङ तथा बाँकी प्रदेशसभा सदस्यले नेपाली भाषामा शपथ लिएका छन् ।
कूल ११० जना बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएकामध्ये प्रदेश सभाको ज्येष्ठ सदस्यको रूपमा ढुंगानाले बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ ग्रहण गरेका थिए ।
शपथ ग्रहणपछि अब सभामुख र मुख्यमन्त्री चयन गर्ने बाटो खुलेको छ । बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् ।
शपथ ग्रहण सकिएलगत्तै प्रदेश सभाको ११औं अधिवेशन पुस १८ गते सोमवारका लागि आह्वान गरिएको छ ।