विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत फेला


खोटाङ – खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत अवस्थामा भेटिएकी छिन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी १७ वर्षीया रञ्जिता दाहाल आज साेमवार बिहान घर नजिकै खन्युको फेदमा मृत भेटिएकी हुन् ।

आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेकोजस्तो अवस्थामा भेटिएकाे खाेटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले बताए । शवको पोस्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुन्ड्याइएकाे जस्तो बनाउन खोजिएको वा आफैँ झुन्डिएको’ विषय खुल्ने प्रहरीले जनाएको छ ।

मृतक बालिका महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनत थिइन् । यही माघ ३ गतेदेखि विद्यालयमा आयोजना हुने नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे ३ बजेतिर घर फर्केकी थिइन् ।

साथीसँग छुटेपछि सम्पर्कविहीन बनेकी दाहालको शव पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई स्थानीयवासीले शङ्कास्पद मानेका छन् ।

प्रतिक्रिया