नेपालीले फहराए लोबुचेमा राष्ट्रियसहित प्रहरी र इन्टरपोलको झन्डा


काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले नेपालको राष्ट्रिय झण्डा तथा नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा लोबुचे हिमालमा फहराएका छन् ।

इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली र आरोहण दलले शुक्रबार ६ हजार ११९ मिटर उचाईको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको हो ।

सो क्रममा उनले नेपालको राष्ट्रिय झण्डा तथा नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा लोबुचे हिमालको चुचुरोमा फहराएका हुन् । इन्टरपोलको १००औं सदस्य राष्ट्र नेपालको तर्फबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झन्डाहरू फहराउनका लागि नेपाली गत चैत ३० गते प्रहरी प्रधान कार्यालयबाट विदा भएका थिए ।

उनलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवम् आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्नाका साथै आरोहण दललाई शुभकामनासहित विदाइ गरेका गरेका थिए ।

प्रतिक्रिया