हराएका मानिसको खोजीमा सक्रिय नेपाल प्रहरी, नाै महिनामा ६ हजार ४२ जना भेटिए


काठमाडौं –  नेपाल प्रहरीले नाै महिनामा छ हजार ४२ जना हराएका मानिस भेटाएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा छ हजार ४२ जना हराएका मानिस फेला परेका हुन् । तीमध्ये एक हजार १७९ जना पुरूष, दुई हजार ४३९ जना महिला, ७२७ जना बालक, एक हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् ।

फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट एक हजार २७२ जना, कोशी प्रदेशबाट एक हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् । सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए । हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन् ।

हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ । पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ । मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ । खोजी तथा उद्दारका लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ ।

खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले भने, “अनजान वा लापरबाहीले अप्ठ्यारोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो । नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दुःखमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तीव्रता अपनाएको छ । खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ? यस्तो अवस्था आउन नदिन सचेतना फैलाउने, सम्झाउने र पुनः घटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ ।”

हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले udb.nepalpolice.gov.np वेबसाइटको व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन् ।

सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए । हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार एक जना महिला रहेका छन् । तथ्याङ्क विश्ले षण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ ।

प्रतिक्रिया