उद्धव थापा कोसी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त


विराटनगर – कोसी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापालाई नियुक्त गरिएको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन्। उनलाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य (सांसद)को समर्थन छ। प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन्।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि ४७ मत आवश्यक पर्ने थियो। एमाले र राप्रपा विपक्षमा बस्दा सभामुखबाहेक बहुमतका लागि संख्या पुग्ने अवस्था थिएन।

राप्रपालाई ल्याउने प्रयास असफल हुँदा संविधानविपरीत गठबन्धनले सभामुखसमेतलाई गणना गरेर मुख्यमन्त्रीका लागि दाबी पेश गरेको थियो। प्रदेश प्रमुखले त्यसलाई स्वीकार गर्दै थापालाई मुख्यमन्त्री बनाएका हुन्।

प्रतिक्रिया