‘सामाजिक सञ्जाल अति नै हुन थाले, नियन्त्रणबारे छलफल जारी छ’


काठमाडौं – कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सामाजिक सञ्जालले अति नै गर्न थालेको भन्दै यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्नेबारे शीर्ष तहमा छलफल भइरहेको बताएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकबारे छलफलमा सहभागी भएका मन्त्री गुरुङले मिडियालाई नभएर सोसल मिडियालाई नियन्त्रण गर्नेबारे शीर्ष नेताहरुको बैठकमा छलफल भएको जानकारी गराए ।

उनले भने, ‘म आफू उपस्थित भएको एकदमै सानो तर शीर्ष नेताको बैठकमा त्यो कुरा उठेकै हो । सोसल मिडियाले अति नै गर्न थाले, जे पायो त्यहि गरेको छ । मलाई त सुनै सुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएकोे हो । तर मिडियालाई नियन्त्रण गर्नेगरी विधेयक बनाउनु पर्छ भन्ने कुरा आएको छैन ।’

सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको उनले बताए । कार्यक्रममा पत्रकार नेताहरुले मिडिया नियन्त्रण गर्ने ढंगले विधेयक आउन लागेको भन्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया