कांग्रेस क्षेत्रीय सभापति एवं वडाध्यक्ष रिजालको पशुपतिआर्यघाटमा अन्त्येष्टि


काठमाडौं – आज बिहान निधन भएका काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि गरिएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको थियो ।

यसअघि स्व रिजालको शवलाई श्रद्धाञ्जलीका लागि काठमाडौं महानगरको तर्फबाट राष्ट्रिय सभागृह र पार्टीको तर्फबाट पशुपतिमा राखिएको थियो । राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए भने पशुपतिमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको झण्डा ओढाएका थिए।

वडाध्यक्ष रिजालको पार्थिव शरीरमा उनका छोरा सन्देश र सार्थक रिजालले दागबत्ती दिएका छन् । उनको अन्तिम संस्कारमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्रीहरू डा शशांक कोइराला र प्रकाशमान सिंह, नेताहरू शंकर भण्डारी, नैनसिंह महर, उर्मिला थपलिया, बागमती प्रदेशका मन्त्री बहादुरसिंह लामालगायत केन्द्रीय र प्रदेशका नेता तथा मन्त्रीको सहभागिता थियो ।

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं १६ बाट वडाध्यक्षका रुपमा निर्वाचित भएका थिए । ५३ वर्षीय स्वर्गीय रिजालका बुबा, आमा, श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया