चन्द्रागिरि नगरपालिकाले पहिलो पटक परिचालन गर्‍यो नगर प्रहरी


काठमाडाैं – चन्द्रागिरि नगरपालिकाले पहिलो पटक नगर प्रहरीको व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दर्ज्यानी चिह्नसमेत प्रदान गरेको छ ।

नगरपालिकाले नगर प्रहरीका लागि २५ पदमा आवेदन माग गरे पनि नगर प्रहरी प्रमुखबाहेक सबै पदपूर्ति भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले जानकारी दिए । नगर प्रहरी प्रमुखको परीक्षामा कोही उत्तीर्ण हुन नसकेपछि फेरि आवेदन खोलिने भएको छ ।

अहिले नगर प्रहरी सहायक निरीक्षक (असई) को कमान्डमा टोली परिचालन हुने र नगर प्रहरीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने मेयर गिरीले बताए । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा नगर प्रहरीलाई तालिम प्रदान गरिएको थियो ।

तालिममा अग्नि नियन्त्रण, आपत्कालीन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक व्यवस्थापन, मानव अधिकार, ड्रिल, भूकम्प, हूल तथा दङ्गा व्यवस्थापन लगायतमा प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया