पिएम कप क्रिकेटमा बागमती विजयी


काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै बागमती प्रदेश विजयी भएको छ । शुक्रबार टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो ।

जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए ।

त्यस्तै अंकित सुवेदीले ५३ रनको योगदान दिए । बागमतीका इशान पाण्डेले ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले बागमतीले ४८ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन जोड्यो ।

बागमतीका आशुतोष घिरैयाले १ सय १८ रनको योगदान दिएका थिए । कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए । जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोशी प्रदेश लगातार पाँचौ हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । राउन्ड रोविन लिग फम्र्याटमा भइरहेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् ।

लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया