क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर, टी-२० खेल्ने बाटाे खुल्यो


काठमाडाैं – क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा निर्दाेष ठहरिएका छन् । उच्च अदालत पाटनले आज (बुधवार) क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएकाे हाे ।

उच्च अदालत पाटनका न्यायाधीशहर सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडाैंकाे फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएकाे हाे ।

यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत काठमाडाैंले आठ वर्ष कैद र पाँच लाख जरिबानाकाे सजाय सुनाएकाे थियाे । याे फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

२०७९ सालको भदाै २१ गते गाैशाला २६ (नाम परिवर्तन) ले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।

उच्च अदालतको याे फैसलासँगै सन्दीपले टी-२० विश्वकप क्रिकेट खेल्ने बाटाे खुलेकाे छ । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई निलम्बनमा राखेको थियो ।

प्रतिक्रिया