एसिया कप क्रिकेट : नेपालको पहिलो जित


काठमाडौं – महिला एसिया कप क्रिकेटमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले जित हासिल गरेको छ । श्रीलंकामा शुक्रबार सुरु खेलमा सम्झना खड्काको अर्धशतकमा नेपालले जित हासिल गरेको हो ।

सम्झनाले अविजित ७२ रन बनाएपछि नेपालले १ सय १६ रनको लक्ष्य १६.१ ओभरमै १ सय १८ रन बनाउँदै पूरा गरेको थियो । नेपालले एसिया कपको इतिहासमै पहिलो विजय हात पारेको हो ।

सन् २०१२ र २०१६ मा ट्वान्टी–२० संरचनामा भएका दुवै संस्करणको एसिया कपमा नेपालले एउटै खेल जित्न सकेको थिएन र सवै ८ खेलमा पराजित भएको थियो ।

सम्झनाको इनिङ्स नेपाली महिला खेलाडीको एसिया कपमा पहिलो अर्धशतक पनि हो । सम्झनाले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएकी हुन् । गत वर्ष हङकङविरुद्ध मलेसियामा एसीसी प्रिमियर कपमा अविजित ३६ रन बनाउनु यसअघिको उनको उच्च स्कोर थियो ।

३५ बलमा अर्धशतक पुरा गरेकी सम्झनाले ४५ बल खेली ११ चौका प्रहार गरिन् । उनले नै विजयी चौका प्रहार गरेकी थिइन् । नेपालको सुरुआत राम्रो थिएन् । सीता रानामगर १७ बलमा ७, कविता कुँवर १० बलमा २, कप्तान इन्दु बर्मा १० बलमा ६ र पूर्व कप्तान रुविना क्षेत्री ८ बलमा १० रनमा आउट भएकी थिइन् ।

तर सम्झनाको एकल प्रयासमा नेपालले सानदार विजय हात पारेको हो । उनलाई साथ दिनेक्रममा पुजा महतो ७ बलमा ७ रन बनाई अविजित रहिन् । यूएईबाट कभिषा इगोडागेले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिइन् । लाभान्य केनीको नाममा १ विकेट रहयो ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले दम्बुला स्थित रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ८ विकेट गुमाई १ सय १५ रन बनाएको थियो । प्रिमियर कप विजेता यूएईबाट खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । ३९ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । काभिषाले २६ बलमा २२, समइरा धर्निधर्काले १३ र कप्तान इशा ओजाले १० रन बनाइन् ।

नेपालबाट इन्दुले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई र कृतिका मरासीनीले १-१ विकेट लिइन् । समूह ‘ए’ मा रहेको नेपालले अव जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया