सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै


काठमाडौं – सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री सोडारीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दल एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय भएको बताएका छन् ।

यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात जेठ ५ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्छ ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।

 

प्रतिक्रिया