प्रतिनिधि सभा बैठक बस्न सकेन, आइतबारसम्मका लागि स्थगित


काठमाडाैं – प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको हो । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्ष दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि सारिएको थियो । तर दिउँसो ३ बजेसम्म पनि बैठक बस्न सकेन ।

बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेको आदेशमा संसद् सचिवालयले सूचना प्रकाशन गरेर आइतवार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो । सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर सहमति जुटेन ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै केही दिनदेखि प्रतिनिधि सभाकाे बैठक अवरोध गर्दै आएको छ । यता कांग्रेसको आज बसेको संसदीय दल बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया