भारी वर्षाका कारण विराटनगरका बस्ती जलमग्न


मोरङ – लगातारको बर्षाले मोरङ विराटनगरका विभिन्न बस्ती जलमग्न बनेका छन् । विराटनगर महानगरपालिकाका ५, ६, १२, १६, १८, १९ वडा जलमग्न बनेको हो ।

अत्यधिक वर्षाका कारण बूढीखोला, केसलियालगायत खोलामा जल सतह बढेको वडा नम्बर-१२ का अध्यक्ष हिरालाल कामतले जानकारी दिए । वर्षातको पानीले निकास नपाउँदा पनि सडकमा खोला बग्ने स्थिति बनेको उनले बताएका छन् ।

वडा नम्बर ५ को सम्झना चोक, विशाल चोकलगायत ठाउँ जलमग्न बनेका छन् । ‘बरगाछीदेखि कञ्चनबारीसम्म जलमग्न हुने अवस्था छ । पानी पर्न रोकिएको छैन,’ उनले सुनाए । पछिल्लो मोरङको हरैचामा ९५ मिलिलिटर पानी परेको छ ।

भारी वर्षा भने झापाको केचना र पोखराको लामापाटन क्षेत्रमा भएको छ । झापाको केचनामा पछिल्लो २४ घण्टामा १५५.६ मिलिमिटिर र लामापाटनमा १५० मिलिमिटर पानी परेको छ । सोलुखुम्बुमा १२० मिलिमिटर पानी परेको छ । सिराहाको ढोढनामा १०४.४ र उदयपुरको सुन्दरपुरमा १०२ मिलिमिटर पानी परेको छ ।

प्रतिक्रिया