एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सुरु हुँदै


काठमाडाैं – नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

महाधिवेशनका बारेमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिएका थिए । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए । उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आज महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया