आजको माैसम : यी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना


काठमाडाैं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । हाल कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको छ । मनसुनी प्रणाली सक्रिय रहि न्यून चापीय क्षेत्र नेपाल नजिक रहेको अवस्थामा आज केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

अहिले पश्चिम तराईका जिल्लामा पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा कोशी प्रदेशको सोलुखुम्बु, ओखलढुङ्गासहित बागमती प्रदेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा बढी वर्षा भएको छ । रोल्पा, दाङ, बाँके लगायतका जिल्लामा अत्याधिक वर्षा भएको छ । पानी धेरै परेसँगै पश्चिम राप्ती, राप्ती र बबई नदीमा बाढीको चेतावनी जारी भएको छ ।

आज राती पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षा र कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा अत्याधिक मुसल्धारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनदेखि निरन्तर पानी परिरहेको र आज पनि धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी, डुवान तथा पहिरो लगायतका घटनाप्रति सचेत हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया