नेकपा एसको महाधिवेशनमा पुगे प्रचण्ड र देउवासहितका शीर्ष नेता


काठमाडौं – नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका छन् ।

महाधिवेशन उदघाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राईलगायत उपस्थित छन् । उनीहरूले एकीकृत समाजवादीलाई शुभकामना दिने कार्यक्रम छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि एकीकृत समाजवादीले निम्ता गरेको थियो । तर, उनी भने कार्यक्रममा पुगेका छैनन् । एकीकृत समाजवादीको कार्यक्रममा ओलीले अन्य नेताहरूलाई पुग्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्रीसँगको भेटपछि अर्को एउटा कार्यक्रम तय भएको छ,’ सचिवालय सदस्य रामशरण बजगाईंले भने । एकीकृत समाजवादीको आजबाट सुरु भएको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया