इलाम-२ मा उपनिर्वाचनको मतगणना सुरू, बझाङमा तयारी


काठमाडाैं – प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरिएको भए केही समय अघि मात्रै मतगणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार सर्वदलीय बैठक बस्न ढिलाइ भएकाले केही समय अघि मात्रै मतगणना सुरु भएको जानकारी दिए । इलाम नगरपालिका-७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ ।

गणनास्थलमा ११ वटा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । मतगणनास्थलमा भीड हुन नदिन चोकबजारमा रहेको ‘डिस्प्ले बोर्ड’ मा परिणाम सार्वजनिक गरिँदैछ । मतपरिणाम एक/एक घण्टाको अन्तरालमा सार्वजनिक गर्ने घिमिरेले बताए । हिजो सम्पन्न मतदानमा ५९ दशमलव ७९ प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ ।

२०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १८ जना उम्मेदवार छन् ।

यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ (क) मा भएको उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदैछ । आज बिहान ७ बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएकोले मतगणना केहीबेर पछि शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतको भवनमा मतगणना हुने छ । हिजो भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मत खसेको छ । चुनावमा ११ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचनभएको हो ।

प्रतिक्रिया