मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । प्रदेश १ प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै बुधबार मुख्यमन्त्री राईले संसदमा विश्वासको मत मागेका हुन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् ।

९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए ।

प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपनि १३ जना सांसद भने बैठकमा उपस्थित नै भएनन् । त्यसमध्ये एक सांसद गुलेफुन खातुन किर्ते मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार छन् ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी ५ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया