रेडपान्डाको छालासहित तीनजना पक्राउ

दाङ – दाङमा प्रहरीले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित रोल्पाका तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका-७ का ३२ वर्षीय रामबहादुर थापा, लुङ्ग्री गाउँपालिका-३ का २० वर्षीय रूपक खड्का र सुनछहरी गाउँपालिका-७ का १९ वर्षीय रामकुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङ जनाएको छ।

शुक्रबार बिहान करिब ७ बजेतिर वन्यजन्तु आखेटोपहार रेडपान्डाको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री वितरणका लागि दाङ हुँदै काठमाडौंतिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुबाङ दाङको संयुक्त प्रहरी टोलीले ५ थान छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए।

उनका अनुसार राप्ती गाउँपालिका-१ भालुबाङमा भालुबाङ-प्यूठान सडकखण्डमा चेकजाँच गर्ने क्रममा उनीहरूका साथबाट उक्त परिमाणको रेडपान्डाको छाला बरामद भएको हो। पक्राउ परेकाहरूले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरी अन्यत्र लैजाँदै गरेको बुझिएको छ।

लोपोन्मुख रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप सङ्कटमा पर्ने अवस्थामा पुगेको एसपी काफ्लेले बताए। उनका अनुसार बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रूपमा यसको कारोबार हुने गरेको छ। पक्राउ परेका तीनजनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि बुझाउने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *