कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्करण गर्नुपर्ने माग गर्दै प्रदर्शन


काठमाडौं – प्रदेशको नाम कोशी राखिएको विरोधमा विभिन्न जातीय संघ संस्थाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्रदेश–१ को कोशी नाम खारेज गर्नुपर्ने र पहिचानको आधारमा पुनः नामाङ्करण गर्नुपर्ने भन्दै लिम्बुवान किँरात संयुक्त संघर्ष समिति, किराँत राई यायोक्खा, नेपाल मंगर, शेर्पालुङ राष्ट्रिय समन्वय समिति लगायतले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

जातीय पहिचान झल्किने गरी प्रदेश १ को नामंकरण हुनुपर्ने उनीहरुको माग छ । प्रदर्शनमा सहभागीहरुले प्रदेश–१ को नाम किराँत, लिम्बुवान शेर्पालुङ नामाकरण गर, पहिचानवादीहरु एक होऔं लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मगर संघका सहअध्यक्ष गंगा बहादुर थापा मगरले प्रदेश–१ को नामांकरण पहिचानका आधारमा हुनुपर्ने बताए । उनले पहिचानका आधारमा प्रदेशको नामांकरण नभएसम्म आन्दोलन जारी रहने बताए । प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

प्रतिक्रिया