गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त

पोखरा – गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाको विश्वासको मत पाएका छन्।

१४ वैशाखमा मुख्यमन्त्री नियुक्त कांग्रेस संसदीय दलका नेता पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा कांग्रेसका २७, माओवादीका ७ र १ जना स्वतन्त्र सांसदले मत हालेका हुन्।

पाण्डेको पक्षमा ३५ र विपक्षमा २२ मत परेको थियो। एमाले सांसदले विपक्षमा मत हालेका हुन्। राप्रपाका २ सांसद भने तटस्थ बसे। सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनमार्फत् निणयार्थ प्रस्तुत गरेका थिए। पक्ष र विपक्षका सांसदले दस्तखतसहित मत हालेका थिए।

यसअघि तत्कालीन मुख्यमन्त्री एमाले संसदीय दलका नेता खगराज अधिकारीले ९ वैशाखमा प्रदेश सभामा विश्वासको मत पाउन सकेका थिएनन्। माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री बनेका अधिकारीलाई दिएको समर्थन उसले चैत १० गते फिर्ता लिएको थियो।

संवैधानिक प्रावधानअनुसार अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएपछि माओवादीकै समर्थनमा कांग्रेसका पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *