तेस्रो पटक कोशीको मुख्यमन्त्री बने हिक्मत कार्की, आजै शपथ


काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई विहीवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्की डेढ वर्षमा तेस्रो पटक मुख्यमन्त्री बनेका हुन् । उनले एमालेका ३९ र माओवादीका १३ गरी कार्कीले ५२ सांसदहरू समर्थन पाएका थिए । समर्थन गरेका ५२ जना सांसदहरूको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नियुक्तिसँगै अब कार्कीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । यसअघि धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की बुधबार बर्खास्तीमा परेका थिए । गएको २६ चैतमा केदार कार्की नेतृत्वको सरकारको एमालेले समर्थन फिर्ता गरे पनि ३० दिनभित्र विश्वासको मत नलिएपछि उनी बर्खास्तीमा परेका थिए ।

केदार कार्की नेतृत्वको सरकार बर्खास्तीमा परेससँगै बुधबार प्रदेश प्रमुखले तीन दिनको समय दिएर उपधारा ५ अनुसारको सरकार आह्वान गरेका थिए । तोकिएको अन्तिम समयअगाडि नै बहुमत सांसदहरू हस्ताक्षर लिएर दाबी गरेपछि प्रदेश प्रमुखले हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका सभामुख सहित ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

गएको प्रदेशसभा निर्वाचनमा दोस्रो पटक सांसद बनेका हिक्मत कार्की पहिलो पटक २४ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले, माओवादी, नेकपा एस र जसपाको समर्थनमा हिक्मत पहिलो पटक मुख्यमन्त्री बनेका थिए ।

सोही गठबन्धन रहेको बेला मुख्यमन्त्री कार्कीले कोशी नामकरणको चाँजोपाँजो मिलाएका थिए । १७ फागुन २०७९ मा कोशी नामकरणपछि भने पहिलो इनिङको मुख्यमन्त्रीमा कार्की समस्यामा पर्दै गएका थिए । संघीय गठबन्धनमा आएको परिवर्तन र प्रदेश भित्र पहिचानवादी आन्दोलनले तत्कालीन कार्की नेतृत्वको सरकार दबाबमा पर्दै गएको थियो ।

प्रतिक्रिया