सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

कांग्रेस र नागरिक उन्मुक्तिको कडा विरोधका बीच सभामुख भण्डारीले मत विभाजनको प्रक्रिया अगाडि बढाएका थिए ।मत विभाजन हुँदा एमालेको ११, माअ‍ोवादीको १० (सभामुख बाहेक), नाउपाको २, समाजवादीको ४ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको विश्वासको मत मुख्यमन्त्रीले पाएका हुन् ।

पहिलो चरणमा बैठक प्रारम्भ हुने बित्तिकै सभामुखले संसदको काम कारबाही अगाडि बढाउने प्रयास गरेका थिए तर प्रदेश प्रमुख नजिर मियाँले असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै बैठक अवरोध गरेका थिए । विपक्षी दलबाट अवरोध भएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

दोस्रोपटक सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न आदेश दिएपछि कांग्रेस र नाउपाका सांसदहरूले बेल घेराउ गर्दै सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *