राष्ट्रिय सभा निर्वाचन आज, मतदान हुँदै


काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचन आज (बिहीबार) हुँदैछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदका लागि आज हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् ।

जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ ।

प्रदेशसभा सदस्यका लागि एउटा र पालिका प्रमुख उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाइएको छ ।

सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ । जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९–९ जना कर्मचारीको व्यवस्था गरिएको छ ।

निर्वाचन हुने कलस्टर अनुसार कम्तीमा ७ र बढीमा १० जना कर्मचारी एउटा मतदान केन्द्रमा रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाइ छ । आज बेलुका ७ बजेसम्म मत परिणाम आइसक्ने निर्वाचन आयोगको अपेक्षा छ ।

प्रतिक्रिया