अब काठमाडौं उपत्यकामा क्यूआर कोडबाटै ट्राफिक जरिवाना तिर्न सकिने


काठमाडाैं – काठमाडौं उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ । ‘क्यू आर स्क्यान, पे फाईन एण्ड विथड्र डकुमेण्ट’ सुविधाको थालनी भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीवार एक कार्यक्रमबीच यो सेवा शुभारम्भ गरेको छ । उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौंतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लंघन गरे उपर सेवाग्राहीले आफ्नो डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसनमार्फत मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरिसकेपछि तुरुन्तै आफ्नो कागजपत्र लिन सकिने बताए ।

उनले ट्राफिक व्यवस्थापनमा नयाँ–नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको र यसबाट आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको पनि उल्लेख गरे ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश ताम्राकारले यसरी ट्राफिक प्रहरीसँग सहकार्य गरी काम गर्न पाउँदा धेरै खुशी भएको व्यक्त गर्दै यस व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पारी सहकार्य गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

कसरी लिने यो सेवा ?

यो सेवा सेवाग्राहीले ट्राफिक कार्यालयको कोठा नम्बर ५ र ६ शाखाको काउन्टरमा राखिएका मनिटरमा ट्राफिक भायोलेशन रेर्कड सिस्टमबाट क्यूआर कोड जेनेरेट गरी मनिटरमा डिस्प्ले गरिन्छ र क्यूआर कोड डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसनमार्फत स्क्यान गरेर ट्राफिक जरिवाना रकम भुक्तानीपश्चात तत्कालै आफ्नो कागजपत्र लिन सक्नेछन् ।

यो सेवा हाललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ ।

यसअघि नै ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू भइसकेको र त्यस प्रणालीलाई थप समयानुकूल र प्रभावकारी बनाउन परिष्कृत गरी क्यूआर स्क्यान गरी तिर्न सकिने व्यवस्था शुरू गरिएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरीका उच्च अधिकारीहरू तथा कुमारी बैंकका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया