तनहुँ बाट सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपाने उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं – नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएकाे छ ।
पार्टीको शनिबार बसेको सचिवालय बैठकले तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमध्ये दुई क्षेत्रका उम्मेदवार टुंगो लगाएको हाे । भने, बारा क्षेत्र नम्बर २ को उम्मेदवार भने टुंगो लगाएकाे छैन ।
सचिवालय बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल प्रहरीका पूर्वमहानिरीक्षकसमेत रहेका नेता सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । यस्तै उनले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि जानकारी दिए ।
तीनवटै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।