कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी, ५२ सांसदले गरे हस्ताक्षर


मोरङ – कोशी प्रदेश सरकारका लागि नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वमा सरकार गठनका लागि दाबी पेश भएको छ । आज (बिहीबार) प्रदेश प्रमुखको कार्यालयमा कार्कीले ५२ प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गरेका हुन् ।

बुधबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को ५ अनुसार सरकारमा सहभागी दल र सांसदले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको प्रक्रिया उनले राजीनामा नदिए पनि अगाडि बढेको हो ।

प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावअनुसार तोकिएको अवधिभित्र मुख्यमन्त्री कार्कीले प्रदेशसभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव अगाडि बढाउन सूचना नदिएको पत्र प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखलाई पठाएको छ । सोही पत्र र महान्यायाधीवक्ता कार्यालयको रायसमेतका आधारमा नयाँ सरकार गठनको आह्वान भएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी दल र सांसदले २०८० चैत २६ गते सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिइसकेको अवस्थामा २०८१ वैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएकोले स्वतः पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई पत्र बुझाएको थियो ।

सरकार रिक्तताको अवस्था रहन नसक्ने भएकोले मुख्यमन्त्रीले विश्वासको मत नलिएर पदमुक्त भएको दिन नै नयाँ सरकार गठनको आह्वान भएको हो । नयाँ सरकार गठनको आव्हान लगत्तै एमाले र माओवादीका सांसदहरूले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।

प्रतिक्रिया