दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै नेकोस

काठमाडाैं – नेपाल खेलकुद महासंघ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेकोसका अध्यक्ष विप्लव घोसले आइतवार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् ।

‘अहिले सजिलै राष्ट्रिय टोलीमा खेलाडी आउने वातावरण निर्माण भएको छैन । त्यस्तै ग्रासरुट उत्पादन पनि कम छ । त्यसैलाई परिपूर्ति गर्नको लागि हामीले दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेका हौं,’ उनले भने । वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेटसँगै, महिला क्रिकेट प्रतियोगितासहित अन्य ६ कार्यक्रम सञ्चालन गर्ने पनि उनले जानकारी दिए ।

उनका अनुसार नेकोसले यस आर्थिक वर्षमा रातोबल र सेतो जर्सीसहितको नेकोस रेडबल क्रिकेट फेस्टिभल, दुई दिवसीय क्रिकेट प्रतियोगिता, अम्पायर तथा प्रशिक्षक सेमिनार, प्रदेश तहका खेलाडी सम्मिलित बन्द प्रशिक्षण, नेकोस महिला कप तथा खेलाडीहरुलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गर्दै यी कार्यक्रमहरु सञ्चालन गर्ने नेकोसका अध्यक्ष घोसले बताए । नेकोसले आयोजना गर्ने रेडबल प्रतियोगितामा १९ वर्ष उमेर समूहका खेलाडीलाई सम्मिलित गराउने योजना रहेको उनले जानकारी दिए । महिला कपमा भने विभागीय टिमलाई सामेल नगराउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *