बाढीले कैलालीमा एकजना बेपत्ता : दुई घाइते, एक हजारभन्दा बढी परिवार प्रभावित


कैलाली – नालामा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छिन् ।

धनगढी उपमहानगरपालिका-१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नवीना चौधरी बगेर बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निजको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

वर्षासँगै भएको डुबानले घर भत्किँदा कैलाली जिल्लाकै  टीकापुर नगरपालिकामा एक र चुरे गाउँपालिकामा पहिराले घर भत्किँदा एक जना गरी दुई जना घाइते भएकाे टीकापुर नगरपालिका-२ का वडाध्यक्ष दिपक चाधरीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका-२ मा कच्ची घर भत्किँदा २२ वर्षीय शिशिर चौधरी घाइते भएका छन् । टीकापुर अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको छ ।

यस्तै जिल्लाको पहाडी क्षेत्रको चुरेगाउँपालिका-३ का स्थानीय रामप्रसाद सापकोटाको घर पसल माथिबाट खसेको पहिरामा परी उनका आठ वर्षीय छोरा आयुस घाइते भएका छन् । पहिराले टिनको छाना भएको घर पसलमा क्षति पुगेको छ । घाइते बालकको अवस्था सामान्य छ ।

बाढी र डुबानका कारण जिल्लाको भजनी र लम्कीचुहा नगरपालिका, चुरे, जोशीपुर र जानकी गाउँपालिकामा गरी झण्डै एक हजारभन्दा बढी घरपरिवार प्रभावित भएको प्रारम्भिक आकलन छ । वर्षासँगै कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका एक सय १७ घरमा पानी पसेपछि घरभित्र राखिएको धनमालमा क्षति पुगेको छ ।

कैलारी गाउँपालिकाका विभिन्न वडामा गरी एक सय १५ घरमा पानी पसेर क्षति पुगेको छ ।

तस्वीर साैजन्य : दिपक चाैधरी, वडाध्यक्ष, टीकापुर नगरपालिका-२ को सामाजिक सञ्जाल फेसबुकबाट 

प्रतिक्रिया